कांग्रेस प्रवक्ता डा. महत भन्छन् – समानुपातिकतर्फ कुनै गठबन्धन छैन


ललितपुर – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशव्यापीरुपमा चुनाव प्रचारप्रसार अभियानमा अझसक्रिय बन्न आह्वान गरेका छन् । उनले समानुपातिकतर्फ कुनै गठबन्धन नभएको स्पष्ट पारेका छन् ।

सोमबार सानेपास्थित बीपी स्मृति भवन, केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस फराकिलो मतान्तरले विजयी हुने र त्यसपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्ने दाबी गरे ।

प्रवक्ता डा. महतले भने, ‘कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउनेछ । देशैभरि प्रचार अभियान जरुरी छ र निर्वाचन आयोगले तय गरेको समयसीमा छ, आम जनताका घरदैलोमा प्रत्यक्ष र समानुपातिकका उम्मेदवार लगातार पुगिरहेका छन् । साझा अपिल पनि आएको, पार्टीको प्रतिबद्वता पनि आएको छ ।’

उनले लामो संघर्षबाट प्राप्त संविधानको रक्षा गर्ने, सरकारलाई स्थायीत्व दिने र देशमा सबैलाई जोडेर अगाडि बढ्ने नेतृत्व आवश्यक रहेको बताए । उनले निर्वाचनमा बहुमतसहित निर्वाचित भएर आएपछि आगामी पाँच वर्षको पूर्ण कार्यकालमा विकासको गति अगाडि बढ्ने र नेपाली जनताको समृद्विको आकांक्षा पूरा गरिने प्रतिबद्वता व्यक्त गरे।

प्रवक्ता महतले प्रत्यक्ष र समानुपातिक गरी दुई किसिमको निर्वाचन प्रणाली रहेको र समानुपातिकतर्फको मत उत्तिकै महत्वपूर्ण रहेको बताए । ‘पार्टीको तर्फबाट देशैभरि रहेका टोलदेखि केन्द्रसम्मका जिम्मेवार नेता, शुभचिन्तक सबैलाई विशेष अनुरोध के गर्न चाहन्छु भने समानुपातिकतर्फ कुनै गठबन्धन छैन । १६५ नै प्रतिनिधिसभा र ३३० प्रदेशसभामा हामीले पार्टीको चिन्हमा मतदान गर्छौं । त्यसमा कुनै द्विविधा रहनुहुँदैन । देशैभरि चारवटा मतपत्र छ । सम्पूर्ण पार्टीको टोलदेखि क्षेत्रसम्मको संरचना मतदातालाई मतदान केन्द्रसम्म पुग्न र सक्रिय हुन अनुरोध गर्दछु ।’

उनले अहिलेको गठबन्धन निश्चित लक्ष्यका लागि एक ठाउँमा आइसकेको र समझदारी एवम् विश्वास प्राप्त भएको उल्लेख गरे । गठबन्धनको संयुक्त अपिल कार्यान्वयन गर्न मौन अवधि अगाडिका बाँकी दिनमा थप क्रियाशील बन्न र यो सन्देश सबैको घर–घरमा पुराउन उनले आग्रह गरे ।

‘घोषणापत्र, प्रतिबद्वता तयार गरेका छौं, नेपाली जनताको आवश्यकता प्राथमिकतामा राखेर । देशको आवश्यकता फराकिलो दृष्टिकोण राख्ने नेतृत्वको आवश्यकता छ’, प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले यसको नेतृत्व गरेका उनले बताए ।

प्रतिक्रिया