पूर्वप्रधानमन्त्री खनाल ग्रीन जोनमा, पूर्वसभामुख नेम्वाङ रेड जोनमा

पूर्व दुई सहकर्मीको राजनीतिक भविश्य इलामका मतदाताको हातमा


काठमाडौं – कुनै बेलाका राजनीतिक सहकर्मी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा इलामको २ वटा अलग–अलग निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेका पूर्वअध्यक्ष, मालेका पूर्वमहासचिव तथा नेकपा एकीकृत समाजबादीका सम्मानित नेता झलनाथ खनाल यस पटक इलामको क्षेत्र नम्वर १ बाट सत्तारुढ गठबन्धनका दलहरुको समर्थनमा साझा उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् ।

पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ भने गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका डम्बरबहादुर बस्नेतसँग एक्लै प्रतिष्पर्धा गर्दैछन् । स्थानीय तहको गत वैशाखमा सम्पन्न निर्वाचनमा गठबन्धन दलले पाएको मतभारलाई हेर्ने हो भने खनाललाई चुनाव जित्न त्यति चुनौति देखिँदैन भने नेम्वाङ्गलाई चुनाव जित्न निकै कठिन देखिन्छ ।

यसरी खनाल ग्रिन जोन अर्थात चुनाव जित्न सहजको अवस्थामा छन् भने नेम्वाङ चुनौतिमा अर्थात रेड जाेनमा देखिएका छन् ।

७२ वर्षे खनाल एमालेका ६२ वर्षका नेता महेश बस्नेतसँग चुनावी प्रतिष्पर्धामा छन् । यहाँ एमालेले जनता समाजबादी पार्टी र राप्रपासँग तालमेल नगरी एक्लै प्रतिष्पर्धामा उत्रिएको छ । इलामको क्षेत्र नम्वर १ मा जसपाका कमलकुमार राई र राप्रपाका तोयानाथ सापकोटाले पनि उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २५ हजार ७७२, नेकपा एसले ९ हजार ४८१, माओबादी केन्द्रले एक हजार २३५ मत पाएको थियो । गठबन्धनका दलका उम्मेदवारले पाएको मत जोड्दा ३६ हजार ४८० हुन आउँछ । तर एमालेले २६ हजार २३३ मत मात्र पाएको थियो ।

यसरी हेर्दा यो निर्वाचन क्षेत्रमा गठबन्धन दलको तर्फबाट उम्मेदवार भएका खनाललाई चुनावको नतिजा आफ्नो पक्षमा पार्न त्यति कठिन छैन । यहाँ एमाले र गठबन्धनबीचको मतभार हेर्दा १० हजार २४४ मतको फरक हुन आउँछ । अर्थात गठबन्धनका उम्मेदवार बलियो देखिएका छन् । यहाँ राप्रपाको एक हजार १६२ मत पाएको थियो ।

खनालसँग प्रतिष्पर्धामा उत्रिएका बस्नेत एमालेको तर्फबाट यसअघि इलाम नगरपालिकाको मेयर पदमा प्रतिष्पर्धा गरेको थिए ।

इलामको क्षेत्र नम्वर २ मा एमालेको तर्फबाट उम्मेदवार बनेका पूर्वसभामुख ६९ वर्षिय सुभाषचन्द्र नेम्वाङसँग गठबन्धनको तर्फबाट नेपाली कांग्रेस इलामका जिल्ला अध्यक्ष ४७ बर्षिय डम्बरबहादुर खड्का उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२ हजार ९७८ मत, माओबादी केन्द्रले २ हजार ७१७ र नेकपा एसले २७७ मत पाएको थियो । गठबन्धनका दलहरुले पाएको जम्मा मत ३५ हजार ९७२ हो । यो क्षेत्रमा एमालेले भने स्थानीय तहको निर्वाचनमा ३२ हजार ५२७ मत पाएको थियो ।

गठबन्धन र एमालेले पाएको मतभार हेर्दा करिव तीन हजार ४४५ मतले गठबन्धनका उम्मेदवार अगाडि देखिन्छन् । इलाम क्षेत्र नम्वर २ मा जसपाले ५५४ र राप्रपाले १३० मत पाएको थियो । दुवै दलले यहाँ छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । यहाँ जसपाका यामप्रसाद लिम्बु र राप्रपाका गणेशप्रसाद दुलाल उम्मेदवार बनेका छन् ।

स्थानीय स्तरमा क्रियाशिल भएका कांग्रेस जिल्ला सभापति खड्काको क्रियाशिलताले गर्दा केन्द्रीय राजनीतिमा बढी समय दिएका नेम्वाङलाई यस पटक चुनाव जित्न खड्काको चुनौति काफी हुने स्थानीय मतदाताहरु बताउँछन् । इलामको दुवै क्षेत्रमा गठबन्धन दलबीचमा असन्तुष्टि नभएको र बिद्रोही वा बागी उम्मेदवार नभएका कारण जित्न सहज हुने खड्काको दाबी छ ।

प्रतिक्रिया