

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार बोहराले गठबन्धनका खगराजलाई सघाउने

डडेल्धुरा – डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा धीरजले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।
सोमबार वाम लोकतान्त्रिक गठबन्धनले आलिताल गाउँपालिका ६ र ७ को संयुक्त चुनावीसभामा उनले नेकपा माओवादी केन्द्रका खगराज भट्टलाई सघाउने घोषणा गरेका हुन्। उनले आफूले उम्मेदवारी फिर्ता लिएको र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई सघाउने प्रतिबद्धतासमेत जनाएका छन्।
बोहराले चुनाव हुन केही दिन बाँकी रहँदा भट्टलाई समर्थन गरेका हुन्। यसअघि उनी स्वतन्त्र उम्मेदवारका रूप चुनावी प्रचारप्रसार गर्दै आइरहेका थिए। प्रदेशसभा ‘क’ मा एमालेबाट पूर्वमन्त्री पठानसिंह बोहरा र स्वतन्त्र उम्मेदवार महेशसिंह धामी चुनावी मैदानमा छन्।

