


नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउनु होः विमलेन्द्र निधि

सप्तरी- नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसदको पहिलो काम हुने भएकाले ४ मंसिरको चुनाबमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्।
नेपाली कांग्रेस सप्तरीद्धारा रुपनीमा आयोजित पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्ब सपसभापति निधिले एमालेको अबरोधका कारण नागरिकता सम्बन्धी कानुन नबन्दा ७ लाख नेपालीले नागरिकता नपाएर अनेक समस्या भोग्नु परेको बताए। उनले चुनाबपछि सत्तागठबन्धनको सरकार बन्ने र नागरिकता सम्बन्धी कानुन बनाउनु नै त्यसको पहिलो काम भएको उल्लेख गरे।
नागरिकता समस्याको समाधानका लागि कांग्रेसले बिगतमा गरेको प्रयासबारे जानकारी गराउदै नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले कानुन बनाउन रोकेको दाबी गरे। उनले नागरिक अधिकारका पक्षमा सरकारले अघि बढाएको बिधेयक स्वीकृत नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकोमा आपत्ति जनाए। निधिले ४ मंसिरको चुनाबपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता दिलाउने प्रतिबद्धता जनाए।
नागरिकता बिहीन नागरिकलाई कानुनी प्रकृया पूरा गरेर नागरिकता दिंदा राष्ट्रियता खतरामा भएको भन्ने ओलीका कारण नै राष्ट्रियता खतरामा परेको उनको भनाई थियो। मधेशी जनतालाई अधिकारसम्पन्न बनाउने सत्तागठबन्धनको प्रमुख दायित्व भएको र ओली नेतृत्वको गठबन्धन ती जनतालाई अधिकारबाट बंचित गराउने काममा लागेकोले ४ मंसिरको चुनाबमा सत्तागठबन्धनलाई मत दिएर जिताउन कांग्रेस नेता निधिले आह्वान गरे।
उनले प्रत्यक्षतर्फ सत्तागठबन्धनका उम्मेदवार र समानुपातिकतर्फ संघ र प्रदेश दुबैमा कांग्रेसको चुनाब चिन्ह रुखमा मतदान गर्न पनि नेता तथा कार्यकर्ताहरुलाई अपील गरे। अगुवा कार्यकर्ता भेलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सप्तरीका सभापति एवं सप्तरी क्षेत्र नं १ का उम्मेदवार रामदेश साह,३ का उम्मेदवार दिनेशकुमार यादव, प्रदेश सभा क का उम्मेदवार मोहम्मद समिम, ख का उम्मेदवार भगतवी यादव, सप्तरी क्षेत्र नं ४ ख का उम्मेदवार इन्द्रदेव यादव लगायतले मधेशी जनताको अधिकार संरक्षणका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउने आग्रह गरेका थिए।

