नेप्से परिसूचक निरन्तर नयाँ उचाइमा


सेयर बजारको परिसूचक नेप्से २ हजार ४४० अंकमा पुगेको छ। यो अंक अहिलेसम्मकै उच्च हो। दिनभरको उतारचढावका बावजुत कार्यालय समयान्तमा परिसूचक १६ अंकले बढेको हो।

यसअघि हिजो कारोबार रकममा कीर्तिमानी कायम भएको थियो। ९ अर्ब ३७ करोडको कारोबार भएकोमा यस दिन भने ८ अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ २४, ब्यापार ९०, निर्जीवन बीमा समूह ७९ र अन्य समूह ३१ अंकले बढेका छन्।

त्यस्तै होटल २४, विकास बैंक २०, जलविद्युत ३, फाइनान्स ६, उत्पादन १७, माइक्रोफाइनान्स ४९ र जीवन बीमा समूह ८८ अंकले घटेका छन्। नागरिक लगानी कोष, गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। माउन्टेन इनर्जी नेपाल, नेसनल हाइड्रोपावर, हिमालयन पावर पार्टनरको मूल्य पनि साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशतले घटेको छ। त्यस्तै सिन्धु विकास बैंकको मूल्य ५.४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ६० करोड ३७ लाख रुपैयाँको कारोबार भयो। कम्पनीको सेयर मूल्य भने स्थिर नै रह्यो। मूल्य प्रतिकित्ता २८४९ रुपैयाँ छ।

त्यस्तै नविल बैंकको ३३ करोड १७ लाख रुपैयाँको कारोबार हुँदा मूल्य भने प्रतिकित्ता ६१ रुपैयाँ बढेर ११७६ रुपैयाँ कायम भएको छ। त्यस्तै एनसिसी बैंकको ३१ करोड ३५ लाख रुपैयाँको कारोबार भयो। आज भने कम्पनीको मूल्य प्रतिकित्ता ८ रुपैयाँ घटेर ३५६ रुपैयाँ कायम भएको छ।

हिजो भने बैंकको मूल्य प्रतिकित्ता १० प्रतिशत बढेको थियो। मूल्य बढेपछि नेप्सेले बैंकलाई भित्री सूचना के छ भनेर जवाफ मागेको थियो। बैंकले जवाफी पत्र पठाउँदै कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वीजिसनको सहमति नभएको स्पष्ट पारेको हो।

प्रतिक्रिया