


आचारसंहिता उल्लंघन गर्नेबाट आयोगले असुल्यो ५० हजार जरिवाना

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेबाट हालसम्म ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ।
आयोगले निर्वाचन आचारसंहिता २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका आधारमा सो जरिवाना गरेको हो।
कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारवाही गरिएको आयोगले जनाएको छ।
आयोगले उजुरी परेपछि स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ।
आचारसंहिता उल्लंघनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको आयोगले जनाएको छ।
आचारसंहिता विपरीत भएका कार्यहरू रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ।

