

राष्ट्रपति सी जी-२० र एपेक सम्मेलनमा सहभागी हुँदै

काठमाडाैं – कात्तिक २९ र ३० गते इन्डोनेसियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी-२० शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुने भएका छन् ।
थाइल्याण्डमा हुने राष्ट्रपति सी एसिया प्रशान्त–आर्थिक सहयोग सम्मेलन (एपेक) बैठकमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् ।
कोभिड-१९ को महामारी र चिनियाँ कम्युनिस्ट पार्टीबाट महासचिवमा पुनः निर्वाचित भएपछि हुन लागेको भ्रमणले चीन र उदीयमान अर्थतन्त्र भएका देशको सम्बन्धलाई अझ सघन तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र अन्य नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता झाओले बताएका छन् ।
राष्ट्रपति सीले सत्तारुढ कम्युनिष्ट पार्टीको नेताका रूपमा तेस्रो ५ वर्षको कार्यकाल पाएपछि अमेरिका र अन्य शाक्तिराष्ट्रका नेतासँग व्यापार लगायत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा सघन छलफल हुने अपेक्षा गरिएको छ ।

