काभ्रेमा निर्वाचनको तयारी अन्तिम चरणमा


काभ्रेपलाञ्चोक – काभ्रेमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन सहजीकरणका लागि ६ मतदान अधिकृत र ६ सहायक मतदान अधिकृत गरी १२ जना मतदान अधिकृत खटाइएको छ भने अन्य सहायकस्तरका कर्मचारीको खटन कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

जिल्लामा सबै तहका गरी ३ हजार ११२ कर्मचारी खटाइने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले हाल मतपत्र प्याकिङको काम भइरहेको बताए ।

३ लाख १० हजार ६३ मतदाता रहेको जिल्लामा प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्र छन् । जिल्लामा ३८९ मतदान केन्द्रको व्यवस्थापन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनको निष्ठा र औचित्य जोगाई निष्पक्ष र मर्यादित चुनाव गराउनका लागि निजामती कर्मचारी लगायत माध्यमिक तहका शिक्षक कर्मचारीलाई समेत निर्वाचनमा खटाइने कार्यालयको भनाइ छ ।

प्रतिक्रिया