
मोरङका प्रदेशसभा कांग्रेस उम्मेदवार थापाको निधन, निर्वाचन रोकिँदैनः आयोग
मोरङ – आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिएका मोरङका एक उम्मेदवारको निधन भएको छ । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री एवं प्रदेशसभाअन्तर्गत मोरङ क्षेत्र नं. ३ (क) बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको जनाइएको छ ।
विगत लामोसमयदेखि बिरामी रहेका थापाको विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
गत असोज २३ गते उम्मेदवारी दिएका थापा २४ गते बिरामी परेका थिए । उम्मेदवारी दिएपछि बिरामी भएका थापाको लामो समयसम्म काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्यमा सुधार आएपछि मतदाताको भेटघाटका लागि सहज होस् भन्दै बिराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । तर उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको पारिवारिक सोतले जनायो ।
उता, निर्वाचन आयोगले उनको निधन भएपनि त्यहाँ निर्वाचन नरोकिने भएको छ। आयोगले त्यहाँ आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने प्रवक्ता शालिग्राम पौडेलले बताएका छन्।
‘निर्वाचन हुनु सात दिनअघिसम्म उम्मेदवारको मृत्यु भएमा त्यहाँ निर्वाचन रोकिँदैन। आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया छिट्टै सार्वजनिक गर्नेछ। त्यहाँ निर्वाचन रोकिनेछैन,’ पौडेलले भने।



कागजपत्र |
