डोटीमा ठूलो भूकम्पअघि दुईवटा पूर्वकम्प, के भन्छन् विज्ञ ?


काठमाडाैं – डोटीमा एकै रातमा तीन पटकसम्म भूकम्प गएको छ । तीन वटै भूकम्प ४ रेक्टर स्केल भन्दा माथिका छन् ।

वरिष्ठ भूकम्पविद् एवं राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ डाक्टर लोकविजय अधिकारी भन्नुहुन्छ, ‘कहिलेकाहीँ ठूलो भूकम्प आउनुअघि पूर्व कम्पहरु आउन सक्छन्, गएराति पनि त्यस्तै भएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जानुअघि पूर्वकम्प गएको हो ।’

केन्द्रका अनुसार राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरको भूकम्प जानुअघि राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पविद् अधिकारीका अनुसार ठूलो भूकम्प जानुअघि सधैं पूर्वकम्प जान्छ भन्ने हुँदैन । कहिलेकाहीँ पूर्वकम्प जान सक्छ ।

नेपालको इतिहासमा १८९० सालमा पनि ठूलो भूकम्प जानुअघि पूर्व कम्प गएको थियो । तर, २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्कलेको भूकम्प जाँदा पूर्वकम्प गएको थिएन । यस्तै, अधिकारीका अनुसार १९९० सालको ठूला भूकम्पमा पनि पूर्वकम्प गएको थिएन । यसपालि भने डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जानुअघि दुईवटा पूर्व कम्प गएको उनले बताए ।

 

प्रतिक्रिया