

प्रचण्डका लागि समय मिलाउँदै थिएँ, काठमाडौंमा भारतविरूद्ध बोलेछन्ः भगतसिंह कोसियारी

गोवा (भारत)– भारतीय जनता पार्टीका तत्कालिन उपाध्यक्ष तथा हाल महाराष्ट्रका गभर्नर (राज्यपाल) भगत सिंह कोसीयारीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नचाहेको विषय सत्य नभएको बताए।
‘पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आएका रहेछन्, समय मागेका थिए। म व्यस्त थिएँ, तैपनि समय मिलाइरहेको थिएँ उनी फर्किसकेछन्’, अनलाइनन्युज सेभेनको टोलीसँग गोवास्थित राज भवनमा उनले भने,‘सबै साथी नै हुन् नभेट्ने भन्ने कुरा हुँदैन तर काठमाडौंमा पुगेर प्रचण्डले भेट दिएन भनेछन्, भारतविरूद्ध बोलेछन्।’
उनले अगाडि भने,‘मैले यता समय मिलाएर सोधें प्रचण्डजी कहाँ छन् भनेर तर दुई दिनमा नै उनी फर्किसकेछन्।’
भारतबाट फर्केपछि राजधानीमा भएको एउटा सभामा प्रतिनिधि सभा विघटन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोल्ने क्रममा प्रचण्डले सोधेका थिए,‘के भारतले भनेर विघटन गराएको हो?’
नेपालका राजनीतिज्ञ सबै साथी रहेको कोसियारीले बताए। उनले भने,‘प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवालगायत सबै हाम्रा साथी हुन्। नभेट्ने भन्ने कुरा हुँदैन। तर समयको प्रबन्ध गरेपछि मात्र भेट हुने हो।’
कोसीयारी भाजपाका लागि नेपाल मामिला जानकारका रुपमा चिनिन्छन्। उत्तराखण्डका कोसियारी नेपाल भारत प्रबुद्ध समूहमा भारतका तर्फबाट नेतृत्व गर्ने नेता हुन्। उनले नेपाल–भारत सन्धी र सीमा समस्याका विषयमा नौ पटकसम्म नेपाल र भारतमा प्रबुद्ध समूहको बैठक गरेका थिए।

