
देउवा सरकारका ५ मन्त्री उम्मेदवार नै भएनन् : १३ मन्त्री कहाँबाट उठ्दैछन्?
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा १८ जना मन्त्री र राज्यमन्त्री मध्ये ५ जनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक कतै पनि उम्मेदवार भएका छैनन् ।
देउवा नेतृत्वको १९ सदस्यीय हालको मन्त्रीपरिषद्मा १३ मन्त्री सबैले संघीय संसदको लागि प्रत्यक्षमा उम्मेदवार बनेका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ पोखरेल, स्वास्थ्य तथा जनसख्या मन्त्री भवानीप्रसाद खापुङले कतै पनि उम्मेदवार बन्न पार्टीको टिकन पाएनन् ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादव, स्वाथ्य तथा जनसख्या राज्यमन्त्री हिराचन्द्र केसी कतै पनि उम्मेदवार भएका छैनन् । टिकट नपाउने मन्त्री रेग्मी नेपाली कांग्रेसकी हुन भने मन्त्री श्रेष्ठ र राज्यमन्त्री यादव माओबादी केन्द्रकी हुन् । मन्त्री खापुङ र राज्यमन्त्री केसी दुवै नेकपा (एकीकृत समाजबादी) का नेता हुन् ।
मन्त्रीपरिषदका अध्यक्ष र सदस्य को कहाँबाट उम्मेदवार ?
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । उनको क्षेत्रमा नेकपा एमालेले उम्मेदवार उठाएको छैन भने नेपाली कांग्रेस बीपीले कर्ण मल्ललाई उम्मेदवार बनाएको छ ।
देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट मन्त्री भएकामध्ये गृहमन्त्री बालकृष्ण खाण रुपन्देही क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेका छन् । उनीसँग राप्रपाका पुरा नेता दीपक बोहोराले प्रतिष्पर्धा गरिरहेका छन् ।
सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्वर ४बाट, पार्टी सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १ बाट, परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर १ बाट उम्मेदवार भएका छन् । कार्कीसाग एमालेका जगदीशप्रसाद कुसैयत, चौधरीसँग एमालेका अच्युत प्रसाद मैनाली र खड्कासँग एमालेकी मञ्जु चौधरी प्रतिष्पर्धामा छन् ।
उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बढु दार्चुलाबाट र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट उम्मेदवार भएका छन् । मन्त्री बढुसँग एमालेका गणेश सिंह ठगुन्ना र राज्यमन्त्री श्रेष्ठसँग एमालेका कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने चुनावी प्रतिष्पर्धामा छन् ।
सत्तारुढ गठबन्धन भित्रको दल नेकपा माओबादी केन्द्रबाट उम्मेदवार हुने मन्त्रीहरुमा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल रहेका छन् ।
मन्त्री भुषाल ललितपुर ३ मा एमालेका अमृत खड्कासँग, शर्माले एमालेका नन्दराम देवकोटासँग, गहतराजले बाँके १ मा एमालेका सूर्यप्रसाद ढकालसँग र पौडेलले बाग्लुङ २ मा एमालेकी मञ्जु शर्मासँग प्रतिष्पर्धा गर्ने निश्चित छ ।
नेकपा एसबाट मन्त्री भएकामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट, शहरी विकास मन्त्री मेटमणी चौधरी दाङ १ बाट, श्रम र रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम १ बाट उम्मेदवार बनेका छन् ।
मन्त्री श्रेष्ठले एमालेका शिवसुन्दर राजबैद्यसँग, मन्त्री चौधरीले एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीसँग र मन्त्री कुँवरले एमालेका झपटबहादुर बोहोरासँग खास प्रतिष्पर्धा गर्दैछन् ।



कागजपत्र |
