केपी ओलीले भने : डडेलधुरामा हाम्रो उम्मेदवार कर्ण मल्ल नै हुन्


काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ललाई गरेको समर्थन यथावत रहेको उद्घोष गरेका छन्।

प्रतिनिधि सभातर्फ मल्ललाई एमालेले समर्थन गरेर प्रदेशमा आफ्ना उम्मेदवार उठाएको उनले बताए। स्थानीय कमिटीलाई कसैलाई समर्थन गर्ने अधिकार नरहेको समेत ओलीले बताए।

‘लोकतान्त्रिक कांग्रेस बनाउँछौँ भनेर कांग्रेसमा विद्रोह गरेका कर्णबहादुर मल्ल एमालेले डडेल्धुरामा समर्थन गरेको छ, हामी हाम्रो प्रतिवद्धतामा अडिग छौँ, मल्लाई समर्थन गर्छौँ, अरु कसैलाई होइन, स्थानीय कमिटीले वक्तव्य निकालेका छन्, कसलाई समर्थन गर्ने भनेर स्थानीय कमिटीलाई अधिकार छैन,’ उनले भने, ‘केन्द्रले जसलाई उम्मेदवार तोकेको छ, समर्थन गरेको छ, आधिकारिकता त्यही हो।’

कसैलाई मन परे नपरे पनि डडेल्धुरामा कर्ण मल्ललाई एमालेले र एमालेका प्रदेशका उम्मेदवारलाई मल्लले समर्थन गर्ने ओलीले बताए।

‘नेकपा एमाले पार्टी विरोधी कसै उम्मेदवारलाई समर्थन गर्छ भन्ने भ्रम नपाले हुन्छ’ उनले थपे। एमालेका नेता विक्रम शाहीले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले कांग्रेस बीपीसँग चुनावी तालमेल गर्दै प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई सघाउने सहमति गरेको थियो।

सहमति अनुसार नै एमालेबाट मनोनयन दर्ता गराएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका थिए। तर पछि कांग्रेस बीपीले प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता डा. ताराप्रसाद जोशीसँग तालमेल गरेको थियो।

त्यसलाई लिएर एमालेले कांग्रेस बीपीसँगको तालमेल तोडेपछि डडेल्धुरा प्रतिनिधि सभामा ऊ उम्मेदवारविहीन भएको थियो।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार शाहीलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर एमाले अध्यक्ष ओलीले भने मल्ललाई नै आफूहरुको समर्थन रहेको सुनाए।

 

प्रतिक्रिया