
सर्वोच्चको आदेशप्रति असहमति जनाउँदै निर्वाचन आयोग सर्वोच्चमा
काठमाडौं – सर्वोच्च अदालतको आदेशप्रति असहमति प्रकट गर्दै निर्वाचन आयोग पुनः सर्वोच्च नै गएको छ । आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा।तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले असहमति प्रकट गरेको हो ।
सर्वोच्च अदालतबाट आदेश र म्याद तामेल नहुँदै अनौपचारिक रुपमा त्यसको कानूनी प्रतिवाद गर्ने तयारी थालेको निर्वाचन आयोगले म्याद बुझेको केही घण्टामै अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखी निवेदन दिने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै ११ पेज लामो निवेदन लिएर निर्वाचन आयोगको टोली सर्वोच्च अदालत पुगिसकेको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले भने, ‘अन्तरिम आदेश खारेजीको माग राखेर आजै निवेदन दर्ता गरेका छौं ।’
निर्वाचन आयोगले विभिन्न आधार लिएर रास्वपाको ललितपुर–३ की उम्मेदवार कार्की लाभको पदमा नै रहेको जिकिर गरेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्यको रुपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो । दुई दिनअघिको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘लाभको पद’को विषयलाई उपयुक्त व्याख्या गराउन आयोगले प्रयत्न गर्ने बताएका थिए ।



कागजपत्र |
