स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ बाट मरे ३ सय बंगुर


वालिङ- स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो। यो रोग स्याङ्जामा पहिलो पटक देखिएको छ।

फिभरका कारण पुतलीबजारका झण्डै तीन सय भन्दा धेरै बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले जनाएको छ।

तीन सय वटा बंगुर मरेको भन्दै रिपोर्ट आएपछि ‘ल्याब परीक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको डाक्टर इन्द्रप्रसाद भट्टले जानकारी दिए।

एक महिनादेखि यो रोगको सङ्क्रमण देखिन थालेको प्राविधिक डाक्टर भट्टको भनाइ छ।

बंगुर झोक्राउने, खाना खान रुचि नदेखाउने, ज्वरो आउने, शरीरमा ढब्बा तथा निलो दागहरू देखिने, नाक र मुखबाट रगत–पानी–र्‍याल बग्ने लक्षण सङ्क्रमित बंगुरमा देखिएको प्राविधिकको भनाइ छ।

सरुवा रोग भएकाले सङ्क्रमित बंगुरलाई छुट्टै राख्ने, होटल तथा बाहिरबाट ल्याएका खानेकुरा राम्ररी पकाएर खान दिने र बंगुरको स्याहारसुसार गर्ने, दानापानी दिने व्यक्ति पनि सुरक्षित हुनुपर्ने डाक्टर भट्टको भनाई छ । यो सङ्क्रमणबाट मरेको बंगुरलाई सही तरिकाले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

भाडामा जग्गा लिएर बंगुर पाल्दै आएका पदम गन्धर्वले आफूले पालेका ४९ वटा बंगुर मरेको बताए। माउ र पाठापाठीसहित धमाधम बंगुर मर्न थालेपछि हजारौँ रुपियाँ बराबरको क्षति भएको छ।

यस्तै, विभिन्न व्यक्तिहरूले व्यक्तिगत तथा सामूहिक रूपमा फार्ममा पाल्दै आएका बंगुरहरु मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए।

किसानले पालेका बंगुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो गिरीले बताए।

 

प्रतिक्रिया