‘हेभिवेट’को संसदीय यात्रामा बाधक बन्लान् यी स्वतन्त्र उम्मेदवार ?


काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दलका चर्चित र प्रभावशाली नेतालाई केही दर्जन स्वतन्त्र उम्मेदवारले टक्कर दिएका छन् ।

गठबन्धन र तालमेल गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएका दलका प्रभावशाली नेताको संघीय संसद सदस्य हुने चाहनालाई यी स्वतन्त्र उम्मेदवारले चुनौति दिएका हुन् । पुरानादेखि नयाँ अनुहार भएका स्वतन्त्र उम्मेदवारको लोकप्रीयता ‘हेबीवेट’ नेतालाई यतिवेला टाउको दुखाई बनेको छ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ बाट कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जोशीको उम्मेदवारी पौडेललाई भारी मात्र होइन, चुनौतिपूर्ण बन्दै गएको छ ।

नेकपा (एकीकृत समाजबादी)का नेता प्रकाश ज्वाला (बुढाथोकी)ले उम्मेदवारी दिएको सल्यानमा पूर्वसहायक मन्त्री राजेन्द्रबहादुर शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसको राजनीतिबाट चर्चा कमाएका शाहले कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको मत आफैले ध्यानमा छन् । शाहको उम्मेदवारीले ज्वालाको संसद यात्रामा बाधा पुग्न सक्छ ।

माओबादी केन्द्रका नेता नरेन्द्र बहादुर कुँवर बैतडीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट एमालेका निवर्तमान सांसद दामोदर भण्डारीले पनि उम्मेदवारी दिएका छन् । दशरथचन्द नगरपालिकाका निवर्तमान मेयर तथा पूर्वसहायक मन्त्री केशवबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनका साझा उम्मेदवार कुँवर र एमालेका भण्डारीलाई सफलता हात पार्न चुनौति थपिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य परित्याग गरी युवा नेता दिनेश कोइराला चितवन क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । कोइरालाको उम्मेदवारीलाई विपक्षी एमालेले समर्थन गरेको छ ।

सत्तारुढ गठबन्धनले माओबादीका डा.भोजराज अधिकारीलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । कांग्रेस पृष्ठभूमि, एमालेको समर्थन र आफ्नो लोकप्रीयताका कारण स्वतन्त्र उम्मेदवार कोइरालाको उम्मेदवारी अन्य उम्मेदवारलाई निकै भारी पर्ने देखिन्छ ।

कांग्रेसबाट सर्लाही क्षेत्र नम्वर ४ मा २०७० र २०७४ को संसदीय निर्वाचनमा विजयी डा.अमरेसकुमार सिंहले यो पटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा एमाले–माओबादीको गठबन्धनलाई परास्त गरी विजयी सिंहले आफ्नो व्यक्तिगत लोकप्रियताको कारण आफू पुनः विजयी हुने दाबी गर्छन् ।

सिंहको उम्मेदवारीले गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नागेन्द्रकुमार रायलाई विजय हासिल गर्न बाधा आउनसक्ने बताइन्छ ।

२०७४ को आमनिर्वाचनमा कैलाली ५बाट उम्मेदवार बनेकी कांग्रेस नेतृ डा.आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै पार्टीको साधारण सदस्यबाट निकालिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा यो पटक सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिष्पर्धामा उत्रिएका छन् ।

यो पटक डा.राणा उम्मेदवार नभए पनि कांग्रेसले डिल्लीराज पन्तलाई र एमालेले नारदमुनी रानालाई पुनः उम्मेदवारी बनाएको छ । तर सो क्षेत्रका पुराना नेता ओझालाई धनगढी उपमहानगरमा स्वतन्त्रबाट उम्मेदवारी दिएर मेयर बनेका गोपाल हमालको समेत समर्थन रहेकोले ओझा बलियो उम्मेदवार भएको बताइन्छ ।

कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका पूर्वअध्यक्ष महादेव गुरुङ काश्की क्षेत्र नम्वर २बाट उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गठबन्धनबाट नेकपा (एस) का श्रीनाथ बराल र एमालेकी विद्यादेवी भट्टराई उम्मेदवार बनेका छन् । पुराना नेता गुरुङको विद्रोहले बराल र भट्टराईलाई चुनाव जित्न त्यति सहज देखिँदैन । गुरुङ सो क्षेत्रबाट निर्वाचन भइसकेका सांसद पनि हुन् ।

सत्तारुढ गठबन्धन दलसँग तालमेल गरेको लोकतान्त्रिक समाजबादी पार्टीका नेता लक्ष्मणलाल कर्ण र जनता समाजबादी पार्टीका नेता तथा निवर्तमान मन्त्री प्रदिप यादवले पर्षा १ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसको प्रभाव क्षेत्र मानिएको पर्सा १ बाट कांग्रेसका पूर्वजिल्ला सभापति अजय द्विबेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी सो क्षेत्रका चर्चित र लोकप्रीय नेता हुन् ।
माओबादी केन्द्रका नेता गिरिराजमणी पोख्रेलले उम्मेदवारी दिएको महोत्तरी क्षेत्र नम्वर १ बाट स्वतन्त्र रुपमा पोषण थापाले उम्मेदवारी दिएका छन् । माओबादी केन्द्रले गत स्थानीय तह निर्वाचनमा एउटा पनि तहमा प्रमुख र उपप्रमुख जित्न नसकेको र सो क्षेत्रमा पर्ने बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेकाले पोखरेललाई यो पटक चुनाव जित्नु फलामको च्युरा जस्तै हो ।

स्वतन्त्रबाट उम्मेदवारी दिएर बर्दिबासको मेयर भएका प्रल्हाद क्षेत्रीसहित उपमेयर र ४ वडाध्यध्यक्ष थापाको पक्षमा उभिएका छन् । उनले आफूसहित महोत्तरी निर्वाचन क्षेत्र १ को ‘क’ र ‘ख’ मा समेत स्वतन्त्र उम्मेदवार उठाएका छन् ।

महोत्तरी १ मा रहेका स्थानीय तहको मत परिणाम हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिन्छ । तर माओबादीले त्यहाँ उम्मेदवारी पाएपछि कांग्रेसका असन्तुष्ट र जनता समाजबादीका शुभेच्छुकको मत समेत आफूहरुले तान्ने थापाले दाबी गरे ।

राप्रपाका उपाध्यक्ष धवल शम्शेर राणा, जनता समाजबादी पार्टीका नेता तथा पूर्वमन्त्री इस्तियाक राई र कांग्रेस नेता सुदिप नरसिंह राणाले प्रतिनिसभाको लागि उम्मेदवारी दिएको बाँके जिल्ला क्षेत्र नम्वर २ मा स्वतन्त्र उम्मेदवार दिवाकर खनालको उम्मेदवारीले झन रोचक बनेको छ ।

एमालेले राप्रपालाई सहयोग गरेको, कांग्रेसका उम्मेदवार तुलनात्मक रुपमा कमजोर रहेको र हिन्दु सनातन धर्मको रक्षाको नारा आफूले लिएका कारण सबै हेबीवेट उम्मेदवारलाई आफूले पराजित गर्ने खनाल दाबी गर्छन् । उनी माओबादी द्वन्द्वको समयमा आठ गोली लागेर घाईते भएका नेपालगञ्जका चर्चित समाजसेवी हुन् । खनालको उम्मेदवारीले ठूला नेताहरुलाई यतिवेला टाउको दुखाई बनेको छ ।

 

प्रतिक्रिया