आजदेखि प्रयोजनविपरीतका अन्डरग्राउन्ड संरचना हटाउँदै पोखरा महानगर


पोखरा – पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो ।

महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि गर्न÷गराउन सम्बन्धित घरधनी र व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटक–पटक आग्रह गर्दा पनि अटेर गरी प्रयोजन विपरीतका सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगर आफंैले खाली गर्ने व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ ।’

पोखरा न्युरोड क्षेत्रबाट अन्डरग्राउन्डमा प्रयोजन विपरीत बनेका संरचना हटाइने र अटेरी गरे डोजर चलाएर भए पनि खाली गरिने महानगरले जनाएको छ ।पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न अनुरोध गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।

तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो । अनुगमनका क्रममा मेयर आचार्यले चाडपर्वका कारण महानगर लचिलो बनेको तर, त्यसपछि भने महानगर कठोर बन्ने चेतावनीसमेत दिएका थिए ।

 

प्रतिक्रिया