

माओबादीको घोषणापत्र : पाँच वर्षभित्र आधा गरिबी हटाउने

काठमाडौं – नेकपा माओवादी केन्द्रले पाँच वर्षमा आधा गरिबी हटाउने संकल्प गरेको छ । देशमा बहुसंख्यक गरिबीको रेखामुनि रहेको भन्दै आगामी पाँच वर्षभित्र आधा गरिबी हटाउने माओवादीले संकल्प गरेको हो ।
आज (सोमबार) मंसिर ४ गते हुने निर्वाचनका लागि माओवादीले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘मुलुकमा जनसख्याको ठुलै हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको छ र गरिब घरपरिवारले दयनीय जीवन गुजारा गर्नुपरिरहेको अवस्था छ । समाजमा गरिबी र पछौटेपन कायम रहँदासम्म सीमित वर्गमात्र लाभान्वित हुने विकास र समृद्धिको कुनै अर्थ रहँदैन । यस अवस्थामा क्रमभंग गर्न आगामी पाँच वर्षमा हाल कायम रहेको गरिबी कम्तीमा आधाले घटाइने छ ।’
गरिबी निवारण गर्ने यस्तो छ माओवादीको संकल्ल्प :
१. गरिबीको रेखामुनि रहेका सबै नागरिकलाई एक वर्षभित्र ‘राज्य सुरक्षा कार्ड’ वितरण गरिने छ र कार्ड प्राप्त गरेका घरपरिवारलाई आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क तथा अत्यावश्यकीय वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइनेछ ।
२. स्थानीय तहसँगको समन्वयमा वन, नदी, ताल र नदीको तटीय क्षेत्र साथै अन्य सार्वजनिक बाँझो जमिनमा कृषि तथा पशुपन्छीपालन व्यवसाय सञ्चालन गर्न विपन्न घरपरिवालाई दश वर्षसम्मको लागि निश्चित परिमाणको जमिन करार गरी उपयोग गर्न दिइने छ ।
३. गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न रु। ५ लाखसम्मको बिउ पुँजी बिना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने छ । यस अनुसार सञ्चालित व्यवसायको बिमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने छ ।
४. ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब किसानहरूलाई सामूहिक प्रणालीमा नगदेबाली, पशुपन्छीपालन तथा जडीबुटी खेती गर्न पूर्वाधार तथा कृषि आगतका लागि अनुदानको व्यवस्था गरिने छ ।
५. सहरी विपन्न नागरिकहरूलाई परियोजना धितोमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने छ ।
६. वास्तविक भूमिहीन सुकुम्बासीहरूलाई भूमिको लालपूर्जा र आवासको प्रबन्ध गरिने छ ।
७. सहरी क्षेत्रका विपन्न परिवारको आवासको लागि सामुदायिक आवास भवन निर्माण गरिने छ । विपन्न परिवार जोखिमपूर्ण तबरले नदी किनार तथा अन्य सार्वजनिक स्थलहरूमा बसोबास गर्नुपर्ने अवस्थाको अन्त्य गरिने छ ।

