
यी हुन् पार्टीबाट निष्काशित माओवादीका बागी उम्मेदवार
काठमाडौं- स्वतन्त्र उमेदवारी दिएका नेकपा (माओवादी केन्द्र)का नेतालाई पार्टीबाट निष्कासन गरिएको छ । आसन्न निर्वाचनमा गठबन्धनका उमेदवारविरुद्ध स्वतन्त्र उमेदवारी दिएका माओवादी केन्द्रका केही नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका हुन् ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितको गठबन्धनका उमेदवारका विरुद्ध स्वतन्त्र उमेदवारी दिने पार्टी केन्द्रीय समिति तथा केन्द्रीय निकायका निम्न सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी गराइन्छ,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी ‘विशेष परिपत्र–३’ मा उल्लेख छ ।
परिपत्रानुसार कारबाहीमा पर्नेमा केन्द्रीय समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उमेदवार रहेका धनकुटाका हेमराज भण्डारी, केन्द्रीय समिति सदस्य एवं प्रतिनिधिसभा सदस्यमा सप्तरी क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवार रहेका अशोककुमार मण्डल, केन्द्रीय समिति सदस्य एवं मधेस प्रदेशसभा सदस्यमा पर्सा क्षेत्र नम्बर–४ ‘क’बाट स्वतन्त्र उमेदवार रहेका वीरेन्द्र यादव, केन्द्रीय समिति सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्यमा रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट स्वतन्त्र उमेदवार रहेका दीपेन्द्रबहादुर पुनमगर र केन्द्रीय लेखा परीक्षण आयोग सदस्य एवं प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार रहेका कालीकोटका काशिचन्द्र बराल छन् ।
यस्तै, पार्टीका प्रदेश समिति सदस्यहरू गठबन्धनका विरुद्ध स्वतन्त्र उमेदवार रहेको भए वा त्यस प्रकारका उमेदवारको प्रस्तावक र समर्थक रहेको भए सम्बन्धित प्रदेश समितिहरूले तत्काल केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिइएको छ ।
जिल्ला र स्थानीय तहका पार्टी समितिका सदस्यहरूले पार्टी र गठबन्धनको निर्णयविपरीत स्वतन्त्र उमेदवारी दिएको वा त्यस प्रकारका उमेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीबाट निष्कासनको कारबाही गर्न भनिएको छ ।




कागजपत्र |
