विवेकी मतदाता भएको क्षेत्रमा निष्ठा र इमान्दारिताको जीत हुने छ : प्रदिप


काठमाडौं – नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्वर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनमा विवेकी मतदाता भएको क्षेत्रबाट निष्ठा र इमान्दारिताको जीत हुने बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रियामा नेता पौडेलले काठमाडौंको निर्वाचन क्षेत्र नम्वर ५ देशकै सबैभन्दा विवेकी मतदाता भएको ठाउँ भएकोले विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् भनेर देशबासीले हेरिरहेको बताए ।

‘काठमाडौं–५ यो देशको सबैभन्दा विवेकी मतदाता भएको ठाउँ हो । यहाँ राज्य र प्रशासनको उच्च तहमा गएर देशको सेवा गरी निवृत्त हुनुभएका व्यक्तित्वहरुले समाजका लागि दिएको योगदान थुप्रैछन्,’ उनले भने, ‘त्यो समाजको प्रतिनिधि कस्तो हुन्छ? ती विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् ? यो देशले हेरिरहेको छ।’

उनले काठमाडौं–५ बाट हुने आफ्नो जीतको श्रेय पार्टी र गठबन्धनमा रहेका अन्य दललाई जाने र जितेर गएपछि पार्टीलाई अलोकप्रिय हुन बनाउने काम आफूले कहिल्यै नगर्ने प्रतिवद्धता दोहोर्याए । ‘मैले जितेँ भने पार्टी र गठबन्धनका साथीहरुका कारणले जित्ने हो,’ पौडेलले भने, ‘जीतेपछि पार्टीलाई अलोकप्रिय बनाउने काम मैले गर्ने छैन।’

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५ बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया