

महाकाली पारि सडक विस्तार गर्न भारतले गर्यो विस्फोट, ढुंगा उछिट्टिएर नेपाली बालकको मृत्यु

दार्चुला- महाकाली नदीपारि भारतले सडक फराकिलो बनाउन बम विस्फोट गरिरहेको छ। एकतर्फी रुपमा भएको सडक चौडा गर्ने कामबारे नेपाल सरकार देखे पनि नदेखेझैँ गरिरहेको छ। त्यहीँ नेपाली बालकको मृत्यु हुने गरी घटना हुँदा पनि सरकारी पक्ष मौन छ।
भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको हो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको हो। उनी दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए।
ढुंगा लागेर हिक्मतकी १४ वर्षीया छोरी सरिना भने घाइते छिन् । खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ। व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बताए । उनका अनुसार भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएकाले उक्त घटना भएको हो । टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

