

ट्रम्पमाथिको महाभियोगमा सुनुवाइ प्रक्रिया दुई साता सर्यो

काठमाडौं – अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटका सांसदहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको प्रक्रिया दुई साता सार्न तयार भएका छन् । राष्ट्रपति जो बाइडनको संसदीय एजेन्डाहरु र क्याबिनेटका मनोनयनलाई प्राथमिकतामा राख्दै यो मुद्दा दुई साता सार्न सांसदहरु तयार भएका हुन् ।
सिनेटमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका नेता चक स्युमरले फेब्रुअरी ८ बाट ट्रम्पमाथिको महाभियोगबारे सिनेटमा सुनुवाइ हुने बताए । सिनेटको यो निर्णयलाई रिपब्लिकन पार्टीका सांसद् मिच एमकोनेलले पनि स्वागत गरेका छन् ।
सोमबार अमेरिकी संसद्को तल्लो सदनले ट्रम्पमाथिको महाभियोगको आधिकारिक प्रस्ताव सिनेटमा पेश गर्दैछ । ट्रम्पलाई अमेरिकी संसद् भवन यूएस क्यापिटोलमा हिंसात्मक घटनाका लागि उक्साएको आरोपमा तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले महाभियोग लगाउने निर्णय गरेको थियो ।
स्युमरले अहिले सिनेट अमेरिकी जनताको लागि काम गरिरहेको बताए । यसअघि रिपब्लिकन पार्टीका एमकोनेलले सिनेटमा ट्रम्पलाई आफ्नो बचाउको लागि केही समय दिनुपर्ने भन्दै फेब्रुअरीको मध्यसम्म यो प्रक्रिया रोक्न आग्रह गरेका थिए ।
सिनेटमा ट्रम्पविरुद्धको महाभियोगको प्रक्रिया सुरु हुनुभन्दा पहिला तल्लो सदनले तोकेका महाभियोग म्यानेजर्सहरुले कारबाही सुरु हुनुपूर्वको प्रक्रियाको लागि ब्रिफिङ दिनेछन् भने ट्रम्पको टोलीले त्यसको जवाफ दिनेछन् । गत जनवरी १३ मा ट्रम्प एकैकार्र्यमा दुईपटक महाभियोग प्रस्ताव दर्ता हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।
एजेन्सी

