
आगामी ५ वर्ष एमालेले एकल बहुमतका साथ सरकार चलाउँछः उपाध्यक्ष पौडेल
काठमाडौं – नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका पौडेलले प्रतिनिधि सभा र प्रदेश सभाको दुवै निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।
उपाध्यक्ष पौडेलले सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै एमालेले पाँच वर्ष एक्लै सरकार चलाउन सक्ने गरी बहुमत ल्याउने बताएका हुन् ।
बुधबार एक सञ्चारमाध्यमसँग कुरा गर्दै पौडेलले भने, ‘मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरि र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ ।’
सत्तारुढ गठबन्धनको गतिविधिका कारण मतदाताले उनीहरुलाई मत नदिने पौडेलले बताए । ‘गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ’ उनले भने ।



कागजपत्र |
