सत्ता गठबन्धनलाई जिताउन हँसिया हथौंडा र कमलमा भोट हाल्न देउवाको आग्रह


विराटनगर – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई जिताउन हँसिया हथौंडा र कमलमा भोट हाल्न आग्रह गरेका छन् ।

प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले प्रदेश १ मा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरे ।

‘एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ’ देउवाले भने, ‘ओलीजीले पनि गठबन्धन गर्नुभएको छ, उहाँको राप्रपासँग गठबन्धन भएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्र प्रदेश १ को झापा जिल्लामा पर्छ । प्रधानमन्त्री देउवाले लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको बताए । उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्मा मतदान गर्न अफ्ठ्यारो नमान्न पनि आग्रह गरे ।

प्रतिक्रिया