मनसुन बाहिरियो, बढ्न थाल्यो चिसो


काठमाडौं- मनसुन बाहिरिएसँगै तापक्रम घट्न थालेको छ । सोमबारबाट विस्तारै तापक्रम घट्नेक्रम सुरु भएकाले चिसो बढ्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहान र बेलुकाको समयमा विशेषगरी चिसो अनुभूत हुन थालेको विभागको भनाइ छ । यद्यपि, दिउँसो भने अहिले चिसो सुरु भइनसकेको छैन।

पश्चिमी वायुको प्रभाव सुरु हुँदा चिसो बढ्न थालेको हो । मनसुन बाहिरिएसँगै पहाडी भू–भागमा पश्चिमी वायुको प्रभाव देखिन थालेको छ । जसका कारण चिसो बढ्न थालेको हो । पश्चिमी वायुको प्रभाव पहाडी भू–भागमा मात्रै सक्रिय भएकाले अहिले तराईका क्षेत्रमा भने चिसो अनुभूत हुन थालेको छैन ।

“पश्चिमी वायुको प्रभाव देखिन थालेपछि तापक्रम घट्दै जान्छ । चिसो बढ्ने अर्को कारण पोष्ट मनसुन पनि हो,” मौसमविद् शविना शाक्य भन्छिन्, “मनसुन सकिएर पोष्ट मनसुनको समयमा पनि चिसो बढ्न थाल्छ ।”

आज बिहान पौने ६ मा काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् शाक्यले जानकारी दिइन् ।

अहिलेबाट घट्न सुरु भएको तापक्रम पुसको दोस्रो सातादेखि माघको पहिलो हप्तामा पुग्दा वर्षकै न्यून हुन्छ ।

 

प्रतिक्रिया