ओलीविरुद्ध मोर्चा बनाउन प्रचण्ड-बाबुरामको भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा मोर्चा बनाउने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच श्रृंखलाबद्ध भेटघाट हुन थालेका छन् । ओलीविरुद्ध संयुक्त आन्दोलन हुन नसके प्रतिनिधि सभा पुनस्स्थापना नहुने भन्दै दुई नेताले भेटघाट बाक्लो बनाउँदै लगेका हुन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षको नेकपासहित अधिकांश दलहरु पुनस्स्थापनाको पक्षमा आन्दोलनरत छन्। प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमै नभएको ती दलहरुको जिकिर छ। कांग्रेसले साथ नदिएपछि भट्टराईले प्रचण्डसँग भेटेर संयुक्त आन्दोलनको प्रस्ताव राखेको उनका स्वकीय सचिव रोशन पोख्रेलले बताए।

जसपाको कार्यक्रम सकेर भैरहवाबाट हतारहतार काठमाडौं फर्किएका भट्टराईले शुक्रबारको रत्नपार्कको आमसभापछि प्रचण्डसँग उपराष्ट्रपति निवासमा छलफल गरेका हुन्। भट्टराईले संयुक्त आन्दोलनका साथै प्रचण्ड–नेपाल पक्षले ओलीसँग पूर्ण रुपमा सम्बन्धविच्छेदको प्रस्ताव राखेको पोखरेलले बताए।

प्रतिक्रिया