प्रभु साहले एमाले पनि छोडे, दिए स्वतन्त्र उम्मेदवारी


काठमाडौ- नेकपा एमालेका नेता प्रभु साहले पार्टी परित्याग गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेका केन्द्रीय नेता घनश्याम भुसालले पार्टी छाडेको भोलिपल्ट साहले पनि पार्टी परित्याग गरेका हुन् ।

एमालेबाट रौतहट क्षेत्र ३ मा टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेपछि आफूले पार्टी परित्याग गरेको उनले बताए।

साहको समूहले जसपालाई दिइएको १६ वटै निर्वाचन क्षेत्रमा आइतबार स्वतन्त्र उम्मेदवारी समेत दिएको उनले जानकारी दिए।
‘एमालेले जसपासँग चुनावी तालमेल गर्यो, ठूलो पार्टी एमाले जसपालाई जिम्मा लगाइदियो,’ साहले भने, ‘हामीले त्यस कुराप्रति समर्थन गर्न सकेनौं, जसपाले पाएको सबैमा बागी उम्मेदवारी दियौं। एमालेमै रहेर स्वतन्त्र उम्मेदवारी दिन नैतिकताले नदिएको हुनाले एउमाले परित्याग गरेका हौं।’

जब एमालेले जसपा र लोसपासँग तालमेल गर्न खोज्यो, आफूले केपी ओलीलाई भेटेर त्यसो नगर्न भनेको साहले बताए।
उनले भने, ‘नेकपा एमाले जनताको बलमा एउटा ठूलो शक्ति बन्छ भनेर पार्टीमा लागेंको हुँ तर, जसपासँग तालमेल गरेपछि यसले चुनाव जित्नका लागि जे पनि गर्दोरहेछ भन्ने स्पष्ट भयो । जसपा साम्प्रदायिकता फैलाउने शक्ति हो । यहाँका मुख्यमन्त्री नै भ्रष्ट नम्बर एक हुन् ।’

साह अगाडि भन्छन्, ‘जसपाको कुनै विश्ववसनीयता छैन भनेर मैले केपी ओलीलाई पटक–पटक भनें । जसपासँगै मिल्ने हो भने त विचार र राजनीतिको भन्दा पनि चुनावकै लागि रहेछ नि त तपाईहरुको पनि राजनीति । तर, उहाँले मान्नुभएन र छलफल अगाडि बढाइराख्नुभयो । त्यसैले जति ठाउँमा जसपाका उम्मेदवार छन्, ती सबै ठाउँमा बागी उम्मेदवार उठाइएको छ ।’

 

प्रतिक्रिया