

मकवानपुर १ मा सूर्य चिह्नबाट उम्मेदवारी दिँदै कमल थापा

मकवानपुर – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा कमल थापा सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्दै छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिह्नबाट उम्मेदवारी दिन सघाउने सहमति भएको हो ।
राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर–१ को प्रतिनिधि सभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो ।
एमाले वाग्मती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताए । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियो । तै पनि अन्तिम समयमा पनि ओलीले थापालाई सूर्य चिह्न दिएर उम्मेदवार बनाउन लागेका हुन्।

