
मध्यरातमा घनश्याम भुषाललाई प्रचण्डको फोन, रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी
काठमाडौं — नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर—१ बाट उम्मेदवारी दिने भएका छन् । प्रतिनिधिसभा सदस्य उनलाई उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
भूसालले शनिबार मात्र सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू एमालेमा नरहने घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए ।
बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । आइतबार पत्रकारहरुसँग कुरा गर्दै भूसालले भने, ‘प्रस्तावका लागि माओवादीलाई धन्यवाद छ, प्रचण्डलाई धन्यवाद छ । तर मलाई स्वतन्त्र नै हुन दिनुस् भनें ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्छ भनेको भन्दै भूसालले अगाडि सुनाए, ‘राति साढे १२ बजे प्रचण्डले मलाई भन्नुभयो । मैले प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेको छु । माधव कमरेडलाई पनि कुरा गरिसकेको छु । हामी तपाईंलाई समर्थन गर्छौं । हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन । तपाईं अगाडि बढ्नुस् भन्नुभयो ।’



कागजपत्र |
