

सन्दीपको उत्कृष्ट बलिङ, सफल हुन सकेन टिम

काठमाडौं – अष्ट्रेलियामा जारी बिग बास लिग -बिबिएलमा होबार्ट हरिकेन्सविरुद्ध पर्थ स्कोरचर्स विजयी भएको छ। होबार्टमाथि पर्थले २२ रनको जित हात पारेको हो।
पर्थले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो। उसका लागि डार्सी शर्टले ३७ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ४३ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
यस्तै, पिटर ह्यान्ड्सकम्बले ३० टिम डेविडले २७ र विल ज्याक्सले २१ रन बनाउनुबाहेक बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा झा रिचर्डसनले सर्वाधिक ४, जेसन बेहरेन्डोर्फ २ तथा एन्ड्र्यू टाय र लियाम लिभिन्गस्टोनले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पर्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो। उसका लागि विकेटकिपर ब्याट्सम्यान जोश ईन्ग्लिसले शानदार ब्याटिङ गरे। उनले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए।
यस्तै, झा रिचर्डसनले २९, लियाम लिभिन्गस्टोनले २६, जेसन रोयले २०, कप्तान एष्टन टर्नरले १५ र आरोन हार्डीले १२ रनको योगदान दिए। बलिङमा नेथन एलिसले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट हात पारेका हुन्। यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा विल ज्याक्स र डार्सी शर्टको नाममा एक–एक विकेट रह्यो।
सन्दीपको उत्कृष्ट बलिङ
होबार्टमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पर्थविरुद्ध उत्कृष्ट बलिङ गरे। उनले आज ४ ओभरमा महत्पूर्ण २ विकेट लिएर २७ रन खर्चे। चौथो ओभरमा ६ रन खर्चेका सन्दीपले तेस्रो ओभरमा ७ रन दिएका थिए। त्यसअघि उनले आफ्नो दोसो र पहिलो ओभरमा एक–एक विकेट लिएका थिए।
टिमका लागि आठौँ ओभर लिएर आएका सन्दीपले पर्थका अलराउन्डर मिचेल मार्शको रूपमा व्यक्तिगत दोस्रो विकेट लिए। उनले ७।५ ओभरमा मार्शलाई एलबिडब्यू आउट गरेका हुन्। दोस्रो ओभरमा सन्दीपले मात्र ४ रन खर्चिए।
सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा लायम लिभिन्स्टोनलाई २६ रनमा आउट गरेका थिए। उनले लिभिन्स्टोनलाई डेविड मलानको हातबाट क्याच आउट गराएका हुन्। पहिलो ओभरमा सन्दीपले एक छक्कासहित १० रन खर्चेर महत्वपूर्ण विकेट लिए।
सन्दीप पछिल्लो दुई खेलमा लगातार विकेटविहीन थिए । जारी प्रतियोगितामा सन्दीपको यो छैठौँ म्याच हो। उनले यसअघि पाँच खेलमा ४ विकेट लिएका थिए।
१२ म्याचमा सात खेलमा जित निकालेर पर्थले अंक तालिकाको दोस्रो स्थानमा कायमै छ। जारी प्रतियोगितामा होबार्टले १२ म्याच खेल्दा ६ मा खेलमा जित हासिल गरेको छ। होबार्ट अंक तालिकाको छैटौं स्थानमा झरेको छ।

