कांग्रेस भित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारमा यस्तो छ भागबण्डा

संस्थापनद्वारा ६० प्रतिशत उम्मेदवार उठाउने दाबी


काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभाको आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टी संस्थापन पक्षले एकलौटी ढंगले उम्मेदवार चयन गर्न लागेको भन्दै नेपाली कांग्रेस संस्थापनइत्तर पक्षको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला पक्षधर नेताहरुले बुधबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

असन्तुष्ट कोईराला पक्षधर नेताहरुले समानुपातिकतर्फ पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका उम्मेदवारको नाम संचार माध्यमबाट सार्वजनिक भएपछि असन्तुष्ट हुँदै बुधबार एक घण्टा पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

संस्थापनइत्तर पक्षले आफूहरुलाई सम्मानजनक ढंगले (४० प्रतिशत उम्मेदवार) प्रतिनिधित्व सुरक्षीत गरिनु पर्ने माग राख्दै धर्ना र विरोध गरे पनि संस्थापन पक्षले भने आफूहरुले ६० प्रतिशत लिएर वाँकी ४० प्रतिशत संस्थापनइत्तर पक्षलाई नै दिएको दाबी गरेका छन् ।

स्रोतका अनुसार समानुपातिकमा संस्थापनइत्तर पक्षलाई पनि सोही बमोजिम प्रतिनिधित्व गराइएको छ । तर, बन्दसूचीमा रहेका उम्मेदवारको नाम बरिष्ठताको क्रमममा राख्दा र हतारमा सूचीको क्रमाङ्क नमिलेको बताइएको छ । बन्द सूचीमा पार्टीका प्रभावशाली केही नेताको नाम समावेस नभए पनि प्रत्यक्षमा समेट्न सकिने संस्थापन पक्षको भनाई छ ।

सभापति देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी आफ्नो पक्षमा ६० देखि ६२ प्रतिशत मात्र लिने रणनीति अख्तियार गरेका छन् । पाँच दलिय गठबन्धनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ करिव ८५ देखि ८७ सिट पाउने सम्भावना छ ।

जस अनुसार देउवा पक्ष एक्लैले करिव ५४ प्रतिशत अर्थात ४५ जना प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ उम्मेदवार उठाउने भएको छ । पार्टीको १४औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको प्यानलसँग मिलेका कृष्णप्रसाद सिटौला समूहलाई भने ७ प्रतिशत अर्थात करिव ६ जनालाई प्रत्यक्षमा उम्मेदवार बनाउने भएका छन् ।

संस्थापनइत्तरको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालाई भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ करिव २० देखि २१ प्रतिशत अर्थात १७ वा १८ सिटमा उम्मेदवार उठाउन पाउने छन् । संस्थापनइत्तरकै नेता तथा महामन्त्री गगनकुमार थापाले भने पाँच प्रतिशत अर्थात ४ जना उम्मेदवार आफू एक्लैले छान्ने भएका छन् ।

पार्टीमा मध्यमार्गी धार पकड्दै आएका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ करिव ४ प्रतिशत अर्थात ३देखि ४जनासम्म, पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ३ देखि ४ जना, प्रकाशमान सिंहलाई ३ र बिमलेन्द्र निधीले २देखि ३ जना पाउने सम्भावना छ ।
प्रदेश सभामा भने सोही प्रतिशतको आधारमा दुई जनासम्म उम्मेदवार थपघट हुन सक्ने स्रोतले जनायो ।

पार्टी भित्र सानो समूहको नेतृत्व गरिहेका सिंहले प्रत्यक्षमा आफूसहित काठमाडौं १० मा राजन केसी, मोरङ २ बाट सुजाता कोइराला र ५ वा ६ मा पार्टीको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले टिकट पाउनु पर्ने पक्षमा लबिङ गरिरहेका छन् ।

अर्का नेता बिमलेन्द्र निधी समाुनपातिकमा आफू बसेर सुरक्षित भए पछि २ नम्बर प्रदेशबाट आफूले रोजेको २ जनालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् ।

डा. शशांक कोइराला भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफूसहित दाङका दिपक गिरी, बर्दियाका सञ्जय गौतम, र संखुवासभाका दिपक खड्कालाई उम्मेदवार बनाउन जोडबल गरेका छन् ।

नेता पौडेलले भने आफू तनहुँबाट केन्द्रीय सदस्य मधु आचार्यलाईसहित कुनै एक जनालाई प्रत्यक्षमा टिकट दिनु पर्ने अडानमा छन् । उनले सिफारिस गरेका मध्ये चर्चित नाम स्याङ्जाका मोहन पाण्डे पनि हुन् ।

कृष्णप्रसाद सिटौलाले भने आफूसहित झापा ४ बाट जिल्ला सभापति देउमान थेबे, बारा १ बाट सहमहामन्त्री उमाकान्त चौधरी, तनहुँबाट प्रदीप पौडेल, काठमाडौंबाट भिमसेनदास प्रधान, दोलखाबाट कुन्दन काफ्लेलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट दिनु पर्ने पक्षमा छन् । शिव हुमागाइँलाई काभ्रेबाट उम्मेदवार बनाउन खोजेपनि काभ्रे २ मा पौडेलले मधु आचार्यको पक्षमा अडान लिएका छन् ।

देउवासँग नजिकिएका सिटौलाले प्रत्यक्षमा प्रदेशसभातर्फ प्रदेश १ बाट भिमपराजुली, तारामान गुरुङ र भुपेन्द्र राई, लुम्विनीप्रदेशबाट मालती सोडारी, सुदूरपश्चिमबाट जनकराज गिरी, हर्ष बम वा नारायण भट्टराईको नाम सिफारिस गरेका छन् ।

उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा देउपाको पक्षमा स्पस्ट खुलेपछि महामन्त्री गगन थापाले पनि प्रदेशतर्फ स्याङ्जाबाट युवराज पाण्डे, बागलुङबाट डिल्लीराम सुवेदी आदिको नाम लिएका छन् ।

 

प्रतिक्रिया