


कोइराला समूहको बिद्रोहको संकेतपछि कांग्रेसद्वारा आजै पत्रकार सम्मेलन

काठमडौ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फ नेपाली कांग्रेसबाट निर्वाचन आयोगमा पेश भएको उम्मेदवारको बन्द सूची सार्वजनिक भए पछि बिद्रोहको तयारी गरेको इत्तर समूहलाई सम्झाउन पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम मंगलबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने पत्रकार सम्मेलनमा बुधबार (भोली)देखि पार्टी कार्यालयमा संस्थापनइत्तर शेखर कोइराला समूहका नेताहरुले गर्ने भनिएको धर्ना कार्यक्रमलाई संवोधन गरिने बुझिएको छ ।
कोइराला समूहका नेताहरुले सोमबार राजधानीमा भेला आयोजना गर्दै बुधबार दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालयमा समानुपातिकतर्फ इत्तर समूहलाई सम्मानजनक अर्थात ४० प्रतिशत भाग नदिएको भन्दै त्यसक बिरुद्ध धर्नाको आयोजना गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगमा पार्टीले पेश गरेको समानुपातिक तर्फको बन्दसूची नै खुल्लमखुल्ला सार्वजनिक भएपछि पार्टीको इत्तर समूह कोइराला पक्षधर नेताहरु १३ प्रतिशत नेता मात्र आफ्नो समूहबाट बन्दसूचीमा परेको भन्दै बिरोध जनाएका हुन् ।
पार्टी सभापति देउवा पक्षले पार्टीमा शेखर कोइराला गुटवाहेक पनि रामचन्द्र पौडेल, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र मिलेन्द्र निधी गुट गरेको भन्दै अन्यलाई पनि भाग लगाउँदा शेखर समूहबाट थोरै मात्र पार्टी कार्यकर्ता समानुपातिकमा अटाउन सकेको जवाफ दिइसकेका छन् ।
पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ पेश गरेको बन्दसूचीमा शेखर समूहका नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, सरिता प्रसाइँ जस्ता प्रत्यक्षमा उम्मेदवार हुन चाहना नै नगरेकालाई नसमेटेपछि इत्तर पक्षधर नेता, कार्यकर्ताै क्रुद्ध बनेका हुन् । पार्टी प्रवक्ताले आगामी निर्वाचन र पार्टीमा देखिएको आन्तरिक किचलोका बिषयमा प्रस्ट पार्ने योजना बनाएको एक नेताले बताए । तर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको अभिव्यक्तिले कोइराला समूहको आक्रोसमा झन घ्यू थप्ने एक नेताले बताए ।

