
हनुमानढोकामा राखियो जमरा
काठमाडौं – राजधानीको हनुमानढोकास्थित दशैं घरमा आज जमरा राखिएको छ ।
घटस्थापनाको बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा जमरा राखिएको हो। उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईंसमेत गरेको थियो ।
दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।



कागजपत्र |
