


गगन थापासँग किन ससंकित भए गठबन्धनका चार दल?

काठमाडौँ- सिट बाँडफाँटका लागि सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको ११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि छन्। उनी हरेक बैठकमा सहभागी हुने गरेका थिए। यतिसम्म कि शीर्ष नेताको बैठकमा समेत उनले प्रवेश पाउँथे र पार्टी सभापतिलाई सहयोग गर्थे।
तर, गठबन्धन र कार्यदलको पछिल्ला तीनवटा बैठकमा गगन उपस्थित भएका छैनन्। उनको अनुपस्थितिले गठबन्धनका चार दललाई भने झस्काएको छ। गगन कांग्रेसले निर्वाचन क्षेत्र लिनुपर्दा १०० बाट घट्न नहुने अडानमा छन्।
तर, केही दिन उनी अनुपस्थित हुनुको कारण कांग्रेसलाई मनोवैज्ञानिक दबाब दिन खोजेको र धेरै लचक नहुन भनेको हुनसक्ने कार्यदलका एक सदस्यले बताए।
बिहीबार बसेको शीर्ष नेता र कार्यदलको संयुक्त बैठकमा कांग्रेसले लचक नहुने संकेत गरेको एक नेताले बताए। एकातिर गगन अनुपस्थित हुनु, अर्काेतिर कांग्रेसले अडान थप बलियो बनाउँदै लग्नुको कारण बुझन् नसकेको कार्यदलका एक सदस्यले बताए।
तर, गगनलाई डेंगु भएर उनी आराम गरिरहेका थिए। डेंगुपछि उनी चिकित्सक संघको कार्यक्रममा, कपनको आगलागीको घटनाको स्थलगत निरीक्षणमा पुगिसकेका छन्। गठबन्धनले प्रतिनिधि सभा तर्फको सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन। आज शुक्रबार फेरि निर्वाचन क्षेत्रमा सहमति गर्नेगरी बैठक बस्ने तयारी छ।

