सूर्यबहादुर थापाको आत्मकथा युवा पुस्ताका लागि यादगार बन्नेछ : प्रधानमन्त्री


कठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गरेका छन्। बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु-सञ्चालन गर्न सफल भएको बताए। उनले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे। उनले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिकर्मीका लागि यादगार कृति हुने विश्वाससमेत व्यक्त गरेका छन्।

उनले भने, ‘सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ। आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु-सञ्चालन गर्न सफल भए। उनको जीवनकालमा मुलुकमा धेरै सकारात्मक काम भए। मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रह समेत उनकै कार्यकालमा भएको थियो। नेपाली राजनीतिका विभिन्न आरोह, अवरोह भोग्नुपरेका सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि एउटा गतिलो कृति हुनेछ। यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिकर्मीका लागि यादगार कृति हुने विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गरेको पनि उल्लेख गरे।

प्रतिक्रिया