

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा, निर्वाचनमा जाने निर्णय गरिने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनमा जाने औपचारिक निर्णय गर्ने भएको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा यहि निर्णयका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ।
उपल्ला तहका नेताले सामूहिक रुपमा निर्वाचनमा जाने निर्णय गरे पनि भनेको मितिमा निर्वाचन नभए सरकारविरुद्ध संघर्षमा समेत जाने ‘कैफियत’ राख्ने छ।
नेपाली कांग्रेस उच्च स्रोतका अनुसार आगामी निर्वाचनमा भाग लिएर प्रतिनिधि सभामा पहिलो दलको हैसियतमा आउने तयारी भएको छ। ‘अदालतको आदेश प्रतिनिधि सभा विघटन सदरका रुपमा आएको खण्डमा निर्वाचनमा नै जाने तयारी हुनेछ। अहिले वडा तहका विरोधका कार्यक्रमका लक्ष्य पनि तिनै हुन्’, कांग्रेस स्रोतले भन्यो।
निर्वाचन आयोगले मध्यावधि चुनावका लागि कार्यक्रम अगाडि बढाइसकेका कारण पनि कांग्रेसले तयारी गरिरहेको बताइन्छ।
यसअघि नै कांग्रेस मुख्यालयले निर्वाचन आयोगले गरिरहेको चुनावी कार्यक्रममा सहभागीता जनाउनका लागि ७७ जिल्ला सभापति र उनीहरूमार्फत क्षेत्रीय, नगर र वडासम्ममा सहभागीता जनाउन सर्कुलर गरिसकेको छ।

