सर्वोच्च अदालत अगाडि प्रहरीको तैनाथी बढाइयो


काठमाडौं – महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने  समाचार सार्वजनिक भएसँगै सर्वोच्चको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको हाे ।

महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ ।

साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ ।

संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।

 

प्रतिक्रिया