महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने


काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारेको प्रतिवेदन आज (शनिबार) बुझाउने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेदन शनिबार बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

संसद्को कार्यकाल आज असोज १ गते राति १२ बजे सकिने भएकाले समितिले शनिबार नै संसदमा प्रतिवेदन बुझाउने तयारी गरेको हो।

समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमिल्ने र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरु जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र बयान लिएको हो।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

प्रतिक्रिया