संविधान दिवसलाई विशेष रुपमा मनाउन एमालेले पदयात्रा गर्दै


काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन शनिबार असोज १ गते उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ। पदयात्राको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले गर्ने भएका छन्।

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट बिहान ७ बजेबाट पदयात्रा सुरु हुने नेकपा एमालेले जनाएको छ। उपत्यका विभिन्न ठाउँबाट आएका पदयात्रा शहीद गेटमा जम्मा भई बसन्तपुर पुगेर बिसर्जन गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट शुरू हुने पदयात्राको नेतृत्व गर्नेछन्। महासचिव शंकर पोखरेल बानेश्वरबाट शुरू हुने पदयात्राको नेतृत्व गर्ने भएका हुन्। पाँचै ठाउँका पदयात्रामा पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरूले नेतृत्व गर्ने भएका हुन्।

लैनचौरबाट शुरू हुने पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपण्डाेलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट शुरू हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ।

अन्य नेताहरू, सांसदहरू पाँचवटा प्वाइन्टमध्ये आफूलाई पायक पर्ने ठाउँमा सहभागी हुने जनाइएको छ। सबै टोली शहीद गेट पुगेपछि अध्यक्ष ओलीको नेतृत्वमा पदयात्रा बसन्तपुरतर्फ प्रस्थान गर्ने गरी कार्यक्रम तय गरिएको नेकपा(एमाले) स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले बताए।

पदयात्रा टोली वसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गरेपछि कार्यक्रम समापन गरिनेछ। संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले यस कार्यक्रममा पार्टीको झण्डा, ब्यानर नबोक्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ। पदयात्रामा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू, पेशा, व्यवसायमा संलग्न आम जनसमुदायको सहभागिताको अपेक्षा गरिएको छ।

संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाइलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिकको अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिन चाहेको छ। त्यसैले राष्ट्रिय दिवसको यस कार्यक्रमलाई एमालेले पार्टीपङ्तिमा सीमित नराखी यसको दायरा फराकिलो बनाएको हो।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो। २०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान-२०७२’ जारी भएको थियो।

प्रतिक्रिया