

बेलायतका राजा चार्ल्सलाई अध्यक्ष ओलीले पठाए बधाई सन्देश

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका नयाँ राजा चार्ल्स तृतीयलाई बधाई सन्देश पठाएका छन् ।
सन्देशमा अध्यक्ष ओलीले राजा चार्ल्सको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायतसँगको सुमधुर सम्बन्ध राजा चार्ल्सको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोलीले बिहीबार नेपालस्थित बेलायती राजदूतावासमा पुगेर अध्यक्ष ओलीको सन्देश नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटलाई हस्तान्तरण गरेको थियो ।
टोलीमा एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा.राजन भट्टराई, कृष्ण केसी, डा.अन्जान शाक्य र लक्की शेर्पा सहभागी थिए ।

