रवीन्द्र मिश्र राप्रपाको उपाध्यक्ष बन्दै


काठमाडौं- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ‘प्रवेश गर्ने’ भएका छन् ।
एक दुई दिनमै टुंगोमा पुर्‍याउनेगरी नेताहरूबीच अहिले छलफल भइरहेको राप्रपाका महामन्त्री भुवन पाठकले जानकारी दिए ।
‘अहिले छलफलकै चरणमा छौँ। एक दुई दिनमै निष्कर्षमा पुग्न सक्छौँ। अहिले टुंगिएको छैन,’ उनले भने ।

मिश्र निकट एक नेताका अनुसार मिश्रले राप्रपामा सहअध्यक्ष मागेका थिए । तर, सहमति हुन नसकेपछि उनले उपाध्यक्षमा चित्त बुझाएको ती नेताको भनाइ छ । तर, उनको वरीयता भने अरू उपाध्यक्षभन्दा माथि हुने स्रोत बताउँछ । राप्रपामा ६ जना उपाध्यक्ष छन्।

मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा असोज ३ गते विमोचन हुँदै छ । सोही दिन पुस्तक विमोचनपछि उनी राप्रपा प्रवेश गर्ने तयारीमा रहेको उनी निकट नेता बताउँछन् ।

 

प्रतिक्रिया