गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुट्दै, आज सहमति होला?


काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो ।

बैठक अहिले बिहान ८ आजेका लागि बोलाइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ । सोही सिलसिलामा हिजो आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।

आज बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताए ।

‘आज लामो छलफल भयो । तर, सिट बाँडफाँटको विषयमा सहमति जुटेन,” आइतबारको बैठकपछि खनालले भने, ‘भोलि बालुबाटारमा ८ बजे शीर्ष नेताहरूको बैठक बस्नेछ। आवश्यकताअनुसार कार्यदलका साथीहरूलाई पनि बोलाइनेछ । हामी सहमतिमा पुग्छौँ।’

सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ। सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदल ठोस सहमति जुटाउन असफल भएको थियो।

 

प्रतिक्रिया