कांग्रेसले ५ होइन १५ वर्षका लागि घोषणापत्र तयार पारिरहेको छः महामन्त्री शर्मा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्षको नभई १५ वर्षको नेपालका लागि पार्टीको घोषणापत्र तयार पारिरहेको बताएका छन् । कांग्रेस संस्थापक नेता विपी कोइरालाको १०९औँ जन्मजयन्तीलाई शुक्रवार सुन्दरीजलमा सम्बोधन गर्दै शर्माले आगामी निर्वाचनका लागि पार्टीले तयार पार्ने घोषणापत्र ५ वर्ष नभई १५ वर्षलक्षित रहेको बताए ।

उनले कांग्रेसलाई रुपान्तरण गरेर नयाँपन दिनुपर्ने पनि बताएका छन् । ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको उनको भनाइ थियो । विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित कांग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको महामन्त्री शर्माको भनाइ छ ।

‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहानजस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली कांग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नवीनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नवीनता पनि अघि बढाउनु पर्छ’, शर्माले भने, ‘वर्षमा भएका कमजोरीलाई हामीले आत्मलोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरूमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । कांग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरूलाई पनि समीक्षा गर्नुपर्छ ।’

महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रम बाहेक अरू नभएको जिकिर गरे ।

प्रतिक्रिया