नेपाल टि-ट्वान्टी लिगका लागि थप दुई टोलीको घोषणा


काठमाडाैं – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन् । क्यानले बिहीवार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सीईओमा अतिशा ज्ञवाली रहेका छन्। यता फार वेस्टन युनाइटेडको भने इङ्ल्याण्डको एस आर स्पोर्ट्स एण्ड भेन्चर्स, च्याटर एकाउण्टेड रुपिन्दर बग्गा रहेकी छन् । कार्यक्रममा दुवै टोलीका मालिकले खेलकुद र नेपाली क्रिकेटमा योगदान दिन चाहेको बताए ।

निर्देशक सुबोधले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताबाट पर्यटनमा पनि फाइदा पुग्ने बताए । यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै नेपाल टि २० लिग खेल्ने सबै ६ फ्रेन्चाइज टोलीको नै घोषणा भएको छ ।

नेपाल टि-२० लिग आगामी असोज ८ देखि कात्तिक ५ सम्म आयोजना हुँदैछ । प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउण्ड रोबिनको आधारमा हुनेछ । कान्तिपुर मिडिया गु्रपअन्तर्गत रहेको कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, अल स्टार्स स्पोट्र्स अमेरिकाअन्तर्गतको लुम्बिनीको टिम मालिक सञ्जय शर्मा, डाइमण्ड डिगिक्याप स्पोट्र्स प्रालि, भारतअन्तर्गत रहेको विराटनगरका विक्रम यादव र गोल्ड स्पोट्र्स प्रालअन्तर्गत रहेको जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ भने नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउनेछन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन् ।

प्रतिक्रिया