सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, आजै शीर्ष नेतालाई प्रतिवेदन बुझाइने


काठमाडौं- सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो।

बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ। हिजो बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ।

प्रतिवेदनको अन्तिम रूप भने आज बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

‘हामीले पाएको जिम्मेवारी अनुसार प्रतिवेदन तयार पारेका छौँ। बिहीबार बिहान ९ बजे बस्ने बैठकले अन्तिम रूप दिने छ । बिहीबार नै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँछौँ,’ उनले भने।

तर, सिट संख्याबारे भने उनले जानकारी दिन मानेनन्। पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ। त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो। सुरुमा साउनभित्रै सिट बाँडफाँटको टुंगो लगाइने भनिएको थियो।

तर, दलहरूको आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई निकै सकस परेको छ।

प्रतिक्रिया