

प्रतिनिधिसभाको बैठक बस्दै, समिति सदस्यहरू हेरफेर गरिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दै छ। ११औँ अधिवेशनको ६१औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ।
आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन्।
यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम पनि हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

