किताब जात्राको पाँचौं संस्करण हुँदै


काठमाडाैं – ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो ।

‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । यो उत्साहका साथ मिस्टिक नेपाल अवधारणामा हामीले यसपालि किताब जात्राको प्रस्तुतिमै पनि विशेष तरिकाले विविधता दिँदैछौं ।’

जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल कोअर्डिनेटर सुवास अर्यालका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसन रहने क्रिएटिभ फेस्टिभल डिरेक्टर कला अनुरागीले जानकारी दिए । भारतका ख्यातिप्राप्त चलचित्र एवं रङ्गमञ्चका अभिनेता, संगीत निर्देशक, गीतकार, गायक तथा पटकथा लेखक पियुष मिश्राको विशेष प्रस्तुतिका साथै नाटक र ‘कुटुम्ब’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।

पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले जानकारी दिए । पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ ।

उनका अनुसार प्रदर्शनीमा उपलब्ध हुने पुस्तकमा विशेष छुटका साथै अनलाइन पेमेन्ट गेटवे प्रभु पेमार्फत भुक्तानी गर्दा अतिरिक्त पाँच प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ ।

प्रतिक्रिया