श्रीमान् श्रीमती नै उम्मेदवारका लागि सिफारिस, तर पार्टी भने फरक


काठमाडौं- पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पती प्रतिनिधिसभा सदस्यका लागि आ-आफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन्।

वागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धर नेकपा एसबाट काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।

शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकलरूपमा सिफारिस भएको हो। सोही क्षेत्रबाट मानन्धरपत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएकी छन्। एमालेका क्षेत्रीय कमिटी बैठकले पन्तसहित तीनजनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ।

मानन्धर एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागे पनि पत्नी इन्दिरा पन्त भने एमालेमै छिन्। उनी एमालेको महाधिवेशनमा समेत प्रतिनिधि थिइन् भने महानगरपालिकाको मेयरको उम्मेदवारमा पनि सिफारिस भएकी थिइन्।

नेकपा एसले काठमाडौं २ बाट माधव नेपाल नलड्ने भएपछि त्यसको साटो वसन्त मानन्धरका लागि काठमाडौं ७ मा दाबी गरेको छ। तर, गठबन्धनबाटै जसपाका नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरिसकेका छन्।

एमाले नेतृ पन्तले आफू पार्टीबाट उम्मेदवारको आकांक्षी रहेको र नाम पनि सिफारिस भइसकेको बताइन्। पति फरक पार्टीमा रहेकाले अर्को पार्टीबाट को उम्मेदवार बन्छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ।

 

प्रतिक्रिया