डा. आरजु राणा देउवा कैलाली ५ बाट सिफारिस


काठमाडौं – नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस भएकी छन्। कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा. राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम बडालले जानकारी दिए।

यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उनको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताए। कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गरेकी थिइन्।

तत्कालीन नेकपा (एमाले) का प्रत्यासी नारदमुनी रानासँग उनी झण्डै पाँच हजार मतान्तरले पराजित भएकी थिइन्। राना नेकपा (एमाले)को तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताए।

निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताए। यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ।

यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा (एमाले) का प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित गरेका थिए।

यस्तै कैलालीको निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वकेन्द्रीय सदस्य नेता सुनिलकुमार भण्डारी, कांग्रेसका पूर्वजिल्ला उपसभापति प्रकाश बम, डा लक्ष्मीराज पाठक, टेकराज जोशीलगायतलाई सिफारिस गरिएको छ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रत्यासी लेखराज भट्टले कांग्रेसका प्रत्यासी सुनिलकुमार भण्डारीलाई झण्डै नौ हजार मतान्तरले पराजित गरेका थिए। भट्ट नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रतिक्रिया