एकैदिन ३ वटा विद्यालय भवनको उद्घाटन


बाँके – नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा विकास गर्ने उद्घोष गरेका छन् ।

बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद विकास कोष अन्तर्गत निर्माण भएका विद्यालय भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले निर्वाचन क्षेत्रका विद्यालयहरुमा प्राविधिकधारका विषयहरु विस्तार गरी शैक्षिक हबका रुपमा विकास गर्ने उद्धेश्य लिएको बताए ।

मन्त्री अथकले बिहिबार एकैदिन तीनवटा विद्यालयमा निर्मित भवनको उद्घाटन गरेका छन् । टिनका छाना बिस्तापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरर्गत राप्ती सोनारी गाँउपालिकाका विभिन्न वडाका तीन वटा विद्यालय भवन उद्घाटन गरिएको हो ।

जस अन्तर्गत मन्त्री अथकले राप्तीसोनारी-६ को जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गरेका हुन् । त्यसैगरी राप्तीसोनारी-६ कमैया डाँडामा रहेको सु-कमैया आधारभुत बिद्यालयको दुई कोठे भवन तथा राप्ती सोनारी-३ भवानियापुरमा रहेको सरस्वती माबिको आठ कोठे पक्की भवनको समेत मन्त्री अथकले उद्घाटन गरेका छन् ।

नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई १०० वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताए । उनले ५०० भन्दा बढि विद्यार्थीहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाए ।

मन्त्री अथकले संघीय सांसदमा निर्वाचित भए लगत्यै आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गर्दै आएका छन् । शिक्षा क्षेत्रको सुधार नगरी समग्र विकासले गति नलिने भन्दै मन्त्री अथकले आफ्नो मुख्य प्राथामिकतामा शिक्षा रहेतापनि आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने प्रतिवद्धता पनि जनाएका छन् ।

हरेक विद्यालयलाई प्राविधिकधारमा लैजानुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अथकले पहिलो चरणमा निर्वाचन क्षेत्रका तीनवटै पालिकाका चार वटा विद्यालयमा कृषि र सिभिल इन्जिनियर तर्फको पठनपाठन सुभारम्भ गरिएको बताए । उनले बाँके जिल्लाको समग्र विकासका लागी आफु लागी पर्ने पनि बताए ।

प्रतिक्रिया